Harsamaya
अखिल क्रान्तिकारी केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुंगो दिने निर्णय
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक ।

काठमाडौं - अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण, विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउने तथा पार्टीभित्र जारी विद्यार्थी संगठनहरूको एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउनेलगायतका महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ ।

बैठकले पार्टीभित्र रहेका विद्यार्थी संगठनबीचको एकतालाई अब थप लम्ब्याउन नहुने निष्कर्ष निकाल्दै आवश्यक वार्ता, समन्वय र तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ । एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता, समन्वय तथा प्रतिवेदन तयारीका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, बैठकले संगठनको पुनर्गठन, प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार, नियमित प्रशिक्षण तथा वैचारिक अभियान सञ्चालन, डिजिटल प्रणालीमार्फत व्यवस्थापनलाई व्यवस्थित बनाउने र शैक्षिक तथा जनजीविकासँग सम्बन्धित मुद्दामा सशक्त हस्तक्षेप गर्ने निर्णय गरेको छ ।

बैठकले पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत संगठनलाई थप गतिशील, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अखिल (क्रान्तिकारी)का उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठले बैठकबाट संगठनको भावी कार्यदिशा स्पष्ट भएको बताउँदै पार्टीभित्र रहेका विद्यार्थी संगठनबीचको एकता प्रक्रियालाई अब अन्तिम टुंगोमा पुर्याइने जानकारी दिए। उनले बैठकले गरेका नीतिगत निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update