बाजुरा - रानीसैन घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग गर्दै रानीसैन पीडित सङ्घर्ष समितिले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।
समितिले जेठ ५ गते हिमाली गाउँपालिका–३ रानीसैनमा भएको आक्रमणमा संलग्न २३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरेको छ।
उक्त घटनामा प्रमुख प्रशासकीय अधिकृत कूलबहादुर थापा, वडा सदस्य पेमागारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका थिए।
समितिले जेठ २३ गते लाम्पाटामा आगजनी, घर भत्काउने तथा ३५ परिवारलाई विस्थापित बनाएको घटनाको समेत विरोध जनाएको छ। दोषीमाथि कारबाही, घाइतेको उपचार खर्च व्यवस्थापन र लाम्पाटामा स्थायी सुरक्षा व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ।
जिल्ला प्रशासनले लाम्पाटामा नेपाल प्रहरीको अस्थायी चौकी र सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी स्थापना प्रक्रिया अघि बढाइएको जनाएको छ।

