Harsamaya
श्रीलंकाका व्यवसायीले भने - नेपालमा लगानी गर्न तयार छौँ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्नका लागि आफूहरु तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलोन चेम्बर अफ कमर्सबीच भएको छलफलमा दुई देशबीच लगानी प्रवर्द्धनका लागि छलफल हुनुका साथै श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् । 

महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्नका लागि आग्रह गरेका थिए ।  नेपाल सरकारले जलविद्युत्मा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको बताउँदै सोही अनुरुप खर्बौँ रुपैयाँ लगानी आवश्यक भएकोसमेत उनको भनाइ थियो ।

“नेपालमा झण्डै दुई तिहाई बहुमतको सरकार छ, वर्तमान सरकारले विदेशी लगानी प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको पनि छ”, उनले भने । 

नेपालमा पनि श्रीलङ्कामा जस्तै जडीबुटी उद्योगका लागि आवश्यक कच्चापदार्थ प्रचुर मात्रामा रहेको भन्दै सोही अनुरुप उद्योग खोल्नका लागि उनले श्रीलङ्काली उद्योगी व्यवसायीलाई उहाँले आग्रह गर्नुभएको थियो । हाल नेपालले सस्तो मूल्यमा जडीबुटी उद्योगका लागि आवश्यक कच्चापदार्थ निर्यात गरिरहेको उनको भनाइ थियो । 

श्रीलङ्कास्थित नेपाली दूतावासका सचिव सागर भण्डारी नेपालमा जलविद्युत्को क्षेत्रमा उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरेका थिए ।  

सिलोन चेम्बरका उपमहासचिव अलेका परेराले नेपालमा पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा श्रीलङ्काका उद्योगी व्यवसायीहरू लगानी गर्न तयार भएको बताएका थिए । जडीबुटी उद्योगमा श्रीलङ्का धेरै अगाडि रहेको उल्लेख गर्र्दै उहाँले नेपालमा पनि सम्भावना भएकाले आफूहरु उद्योग स्थापनाका लागि तयार रहेको बताए । 

महासङ्घका तर्फबाट केन्द्रीय कार्यकारणी सदस्य भक्तबहादुर हमालले दुई देशबीचको व्यापारको सम्बधमा प्रस्तुतीकरण दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update