काठमाडौं - कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी भेषराज दर्जीको उपचारका क्रममा मृत्यु भएको छ। ३६ वर्षीय दर्जीको बिहीबार दिउँसो वीर हस्पटलमा निधन भएको हो।
उनकी श्रीमती विमला सुनुवारका अनुसार दर्जी विगत आठ वर्षदेखि बिरामी थिए। आर्थिक अभावका कारण थापाथली सुकुम्बासी बस्तीमा बस्दा पर्याप्त उपचार हुन नसकेको र विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेपछि स्वास्थ्य अवस्था झन् जटिल बनेको उनले बताइन्।
‘उहाँ आठ वर्षदेखि बिरामी हुनुहुन्थ्यो। पैसा नभएकाले उपचार हुन सकेको थिएन। होल्डिङ सेन्टरमा बस्ने क्रममा अवस्था गम्भीर भएपछि काठमाडौं महानगरपालिकाले अस्पताल पुर्याएको थियो, तर उपचारकै क्रममा निधन भयो,’ विमलाले भनिन्।
थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि दर्जी परिवार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएको थियो। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई गत जेठ १८ गते वीर अस्पतालमा भर्ना गरिएको थियो।
बिहीबार दिउँसो २ बजेर २६ मिनेटमा दर्जीको मृत्यु भएको हो।

