काठमाडौं- नेकपाका सांसद युवराज दुलालले सरकारले ल्याएको बजेटमाथि गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्री र प्रधानमन्त्रीमाथि कडा कटाक्ष गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै दुलालले बजेट वक्तव्य र विनियोजन विधेयक संसदमा पेश भएको पाँच दिन बितिसक्दा पनि मन्त्रालयगत कार्यक्रम सार्वजनिक नभएको भन्दै बजेट नै पुनर्लेखन भइरहेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।
‘संसदमा बजेट वक्तव्य र विनियोजन विधेयक पेश भएको पाँच दिन बितिसक्यो, अझै मन्त्रालय/निकायगत कार्यक्रम आएको छैन। कतै बजेट नै पुनर्लेखन त हुँदै छैन ?’ उनले प्रश्न गरेका छन्।
दुलालले करका दरहरू पटक–पटक परिवर्तन गरी अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको दाबी गर्दै यसलाई अस्वाभाविक अवस्था भनेका छन्। ‘कहीँ नभएको जात्रा हाँडीगाउँ, कहीँ नभएको विज्ञ अर्थमन्त्री रे !’ भन्दै उनले अर्थमन्त्रीको कार्यशैलीमाथि व्यंग्य गरेका छन्।
नेपालका विश्वविद्यालयमा अध्ययन गरेका विगतका अर्थमन्त्रीहरूले समेत बजेट ल्याउँदा यस्तो अव्यवस्था नदेखिएको दाबी गर्दै उनले वर्तमान नेतृत्वमाथि असन्तुष्टि पोखेका छन्। ‘१० मिनेट संसदमा बोल्दा प्रधानमन्त्री म्याउ, एउटै बजेटमा हार्भर्डका विज्ञ अर्थमन्त्री झ्याउ,’ भन्दै उनले सरकारको क्षमता र तयारीमाथि प्रश्न उठाएका छन्।
यही क्रममा उनले अर्को सन्देशमार्फत सत्ता नेतृत्वलाई घमण्ड त्याग्न समेत सुझाव दिएका छन्। ‘घमण्डको कालो चस्मा र घमण्डले मस्किएको ओठ मिठ्याई दुवै उतारेर सरलताको यथार्थ धरातलमा टेकौं,’ उनले लेखेका छन्।
दुलालले सत्य बोलिरहने, कानुनी मार्गबाट विचलित नहुने र कानून मिच्नेहरूमाथि खबरदारी जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनको यो अभिव्यक्तिलाई बजेट कार्यान्वयनको प्रारम्भिक चरणमै सरकारमाथि सत्तारुढ गठबन्धनभित्रैबाट आएको तीव्र आलोचनाका रूपमा हेरिएको छ।

