काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक विवादभन्दा माथि उठाएर विकास, लगानी र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
भारतीय सञ्चारमाध्यममा आफ्नो विचार राख्दै लामिछानेले नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनलाई ‘मतपेटिका क्रान्ति’को संज्ञा दिँदै रास्वपाको उदयले मुलुकमा नयाँ राजनीतिक यथार्थ स्थापित गरेको उल्लेख गरेका छन्।
उनले नेपालमा भएको परिवर्तन हिंसा, सैन्य हस्तक्षेप, विदेशी प्रभाव वा संवैधानिक शून्यताका कारण नभई लोकतान्त्रिक प्रक्रियामार्फत सम्भव भएको दाबी गरेका छन्। रास्वपाले पाएको जनमतलाई परिवर्तनको आकांक्षा र आशाको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै उनले युवा नेतृत्व र परिणाममुखी राजनीतिलाई जनताले समर्थन गरेको बताएका छन्।
लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यता, संस्कृति र धार्मिक आस्थासँग जोडिएको उल्लेख गरेका छन्। जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको सम्बन्धलाई उदाहरण दिँदै उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले रक्सौल–काठमाडौं रेलमार्ग, हवाई सम्पर्क विस्तार, सूचना प्रविधि, डिजिटल अर्थतन्त्र, ऊर्जा व्यापार र पर्यटन क्षेत्रमा नेपाल–भारत सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गरेका छन्। साथै नेपालमा भारतीय प्राविधिक शिक्षण संस्था र स्वास्थ्य संस्थानहरूको सहकार्य विस्तार गर्न सकिने सुझाव पनि दिएका छन्।
सीमा विवादका विषयमा बोल्दै लामिछानेले तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा संवादमार्फत समाधान खोजिनुपर्ने बताएका छन्। उनले अतिराष्ट्रवादी नाराबाजीले समस्या समाधान नहुने उल्लेख गर्दै विश्वास र व्यवहारिकतामा आधारित सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
लामिछानेले स्थिर र समृद्ध नेपाल भारतका लागि पनि रणनीतिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै वर्तमान समयलाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। उनले विगतका अविश्वास र असमझदारीलाई अन्त्य गर्दै विकास र समृद्धिको साझा यात्रामा अघि बढ्नुपर्ने बताएका छन्।

