काठमाडौं - नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले क्रियाशील सदस्यता सम्बन्धमा स्पष्ट पार्दै छुटेका सदस्यलाई पनि महाधिवेशनमा सहभागी गराइने बताएका छन्।
सोमबार जारी प्रेस विज्ञप्तिमा खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई पूर्ण एकताको महाधिवेशनका रूपमा सफल बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले पार्टीको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम २०८२ पुस १० गतेसम्म सम्पन्न भइसकेको जानकारी दिएका छन्। त्यतिबेला छुटेका, नवीकरण गर्न चाहने तथा नयाँ सदस्यता लिन चाहने साथीहरूको सदस्यता नवीकरण तथा नयाँ वितरणको काम समेत गरिएको उनले बताएका छन्।
विज्ञप्तिमा पुस १० गतेसम्म छुटेका र त्यसपछि नवीकरण वा नयाँ सदस्यता प्राप्त गरेका क्रियाशील सदस्यलाई पनि यथावत् कायम गरी महाधिवेशनमा सहभागी हुने सुनिश्चितता गराइने प्रतिबद्धता व्यक्त गरिएको छ।
खड्काले स्वदेश तथा विदेशमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई यस विषयमा स्पष्ट र आश्वस्त हुन आग्रह गरेका छन्।
उनले पार्टीभित्र एकता कायम गर्दै महाधिवेशनलाई सफल बनाउन सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

