सिन्धुपाल्चोक - नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको ३०औं साधारण सभामा विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । आइतबार चौतारमा गरिएको कार्यक्रममा अग्रज, सहकर्मी तथा युवा पत्रकारहरूलाई सम्मान गर्दै पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गरिएको हो ।
यस अवसरमा ‘सिन्धु पत्रकारिता सम्मान’बाट महासंघका पूर्व अध्यक्ष पवित्रकुमार खड्का सम्मानित भएका छन् । त्यस्तै, ‘राम केशी स्मृति पत्रकारिता सम्मान’ होमनाथ कट्टेल किशोर र ज्ञानेन्द्र प्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ ।
त्यसैगरी, ‘कञ्चन ज्ञानेन्द्र स्मृति पुरस्कार’ दिनेश दुलाललाई प्रदान गरिएको छ भने ‘दुर्गा प्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’बाट रुपक कोइराला सम्मानित भएका छन् ।
‘रामप्रसाद घिमिरे स्मृति पत्रकार पुरस्कार’ जगन्नाथ दुलाललाई, ‘कृष्णमाया घिमिरे स्मृति पुरस्कार’ शर्मिला ठकुरीलाई तथा ‘नानीराम नेपाल स्मृति क्रियाशील युवा पत्रकारिता पुरस्कार’ चित्रकुमार मिजारलाई प्रदान गरिएको महासंघले जनाएको छ ।
यस्तै, ‘जुगल नमोदित पत्रकारिता पुरस्कार’ अनिष तिवारीलाई तथा ‘सर्वपक्ष युवा पत्रकारिता पुरस्कार’ प्रकाश सुन्दासलाई प्रदान गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले निष्पक्ष, जिम्मेवार र जनपक्षीय पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै सम्मानित पत्रकारहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

