काठमाडौं - नेकपाका सांसद युवराज दुलालले सरकारले नेपाललाई अझै तीन वर्षसम्म अति कम विकसित राष्ट्रकै सूचीमा राख्न संयुक्त राष्ट्रसंघलाई गरेको आग्रह दीर्घकालीन रूपमा उचित नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा प्रत्यक्ष विदेशी लगानी बढ्ने, गुणस्तरीय पर्यटक आकर्षित हुने तथा नेपाल विकासको गतिमा अघि बढिरहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने बताए । साथै यसले नेपाल र नेपालीप्रति विश्व समुदायको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने उनको भनाइ छ ।
सांसद दुलालले तीन वर्षको ‘ग्रेस पिरियड’ सुविधा उपयोग गर्दै विकासशील राष्ट्रमा स्तरोन्नति हुनुपर्नेमा त्यसको विपरीत पत्राचार गर्नुले सरकार ठूलो ऋण लिन इच्छुक रहेको संकेत गर्ने टिप्पणी गरे । उनले यसलाई राजनीतिक तुषको प्रयाससमेत भएको आरोप लगाए ।
‘अहिले नै विकासशील राष्ट्रमा जान तयार देशलाई तीन वर्ष पछाडि धकेल्नु भनेको पछि ‘हामीले अति कम विकसितबाट विकासशील राष्ट्रमा उन्नति गर्यौं’ भन्ने राजनीतिक दाबी गर्न खोजिएको जस्तो देखिन्छ,’ दुलालले भने ।
उनका अनुसार अति कम विकसित हैसियतमा रहँदा पाइने सुविधा माग्नेको सुविधामात्र भएकाले नेपाल आत्मनिर्भरता र दीर्घकालीन आर्थिक सुदृढीकरणतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ ।

