Harsamaya
आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

झापा - पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५:१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर (नेपाली रु ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली रु एक लाख ३६ हजार ६५७) समेत बरामद गरिएको बताए ।

पक्राउ परेका भारतीय नागरिकबाट सवारीचालक अनुमति, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्डडिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको जनाइएको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आजै झापा जिल्ला अदालतमा पेस गरिने बताइएको छ ।

निज पाठक भारतको पानीटङ्कीनाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँच क्रममा पक्राउ परेका थिए ।

सशस्त्र प्रहरी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरूले शङ्का लागेर संयुक्त जाँच गर्दा भारतीय नागरिक पाठकले बोकेको कालो झोलाभित्र अवैध सुन र विदेशी मुद्रा फेलापरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update