Harsamaya
घर तथा कार्यालयमा विभागको छापाप्रति मुख्यमन्त्री बानियाँको आपत्ति
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ।

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आफ्नो घर तथा कार्यालयमा छापा मारेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएका छन्।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित निवास तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएकोप्रति आपति जनाएका हुन् । 

उनले आफू मुख्यमन्त्री बनेदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै आएको दाबी गरेका छन्। सार्वजनिक खर्चमा कटौती, आर्थिक मितव्ययिता र आवश्यकता–आधारित योजना तथा बजेट कार्यान्वयनमा पारदर्शिता कायम गर्ने नीतिमा आफू प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।

तीन तहको सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको साथ रहने स्पष्ट पारे। साथै, राज्यका जुनसुकै निकायले गर्ने सुशासनसम्बन्धी पहलमा आफू सहयोग गर्न तयार रहेको उनले जनाए।

यद्यपि, सञ्चारमाध्यममा आएका समाचारका आधारमा गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमा आघात पुगेको महसुस भएको उनको भनाइ छ।  ‘राज्यका निकायले बोलाउँदा म स्वयं उपस्थित हुने अवस्था हुँदाहुँदै अकस्मात् गरिएको छापामारीप्रति मेरो आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ।

मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानुनी दायराभित्र रहेर हुने कुनै पनि अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता दोहोर्‍याउँदै छापाका कारण भ्रमित वा चिन्तित नहुन बागमतीवासी तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update