काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।
शनिबार (चैत २८) पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय कार्यसंयोजक समितिको बैठकबाट ट्रेड युनियन र विद्यार्थी संगठन खारेजीको विपक्षमा उभिने निर्णय गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
विद्यार्थी संगठन र ट्रेड युनियनलाई प्रतिबन्ध लगाइँदा उनीहरूको अधिकार कुण्ठित हुने बैठकको निष्कर्ष रहेको उनले बताए । नेता खतिवडाले केन्द्रीय कार्यसंयोजक समितिको बैठकमा देशको समसामयिक परिस्थिति, सरकारको क्रियाकलाप, पार्टीको अबको कार्ययोजना तथा सम्पूर्ण कमिटीको समायोजनका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए ।
केन्द्रीय कार्यसंयोजक समितिमा हालसम्म ४५ सदस्यले धारणा राखेका र आउँदो वैशाख ३ गते बस्ने गरी बैठक स्थगन गरिएको उनले बताए ।मुलुकको वर्तमान परिस्थितिका साथै पार्टीको आन्तरिक विषयमा निर्णय गर्दै केन्द्रीय कार्यसंयोजक समितिको बैठक वैशाख ४ गतेभित्र सम्पन्न गरिने खतिवडाले उल्लेख गरे ।

