काठमाडौं - नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज शपथ ग्रहण गरे लगत्तै पदबहाली गरेका छन् ।
मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन् ।
पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको थियो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकबाट बैंक सेवा यात्रा सुरु गरेका थिए। त्यसपछि उनी २०६८ सालमा उप–निर्देशक, २०७४ सालमा निर्देशक, र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नत भएका थिए। कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वका साथै बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।

