काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे ।
उनले भने, ‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न जरुरी छ । सरकारले आफ्नो ढंगले काम गरिरहेको छ । प्रधानमन्त्री धेरै नबोली लिखित रूपमा माफी माग्दै जनता र दलित समुदायको जीवनस्तर उकास्न मजबुत निर्णय ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।’
सुनारले दलित समुदायको न्याय र हितका लागि सरकारले अघि बढाएको काममा आफ्नो पार्टीले पनि सुझाव दिएको बताए । ‘दलित आयोगलगायत सरोकारवाला निकायसँग समन्वय गरेर सुझाव दिएका छौं, यो सुरुवात मात्र हो,’ उनले भने ।
गृहमन्त्रीमाथि उठेका प्रश्नबारे उनले निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरे । ‘मजबुत ढंगले छानबिन हुनुपर्छ र हुन्छ पनि, सत्यतथ्य आएपछि कसैले पनि चुक्ने वा झुक्ने हुँदैन,’ उनले स्पष्ट पारे ।
यसैबीच, सांसद इन्दिरा राना मगरले कृषकहरूलाई आयतित मलमा निर्भर रहनु नपर्नेगरी स्वदेशमै उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘सानो उद्योगमार्फत मल उत्पादनका परियोजना अघि बढाउनुपर्छ। यो किसानका लागि अपरिहार्य छ र दीर्घकालीन रूपमा लागू गर्नुपर्छ।’
उनले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सके जनताले प्रत्यक्ष राहत महसुस गर्ने धारणा व्यक्त गरिन्।

