Harsamaya
‘जातीय विभेद अन्त्यका लागि प्रभावकारी कार्यान्वयनमा जोड’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर।

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।

६१औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको मूल समारोहमा बोल्दै उनले संविधानले जातीय विभेद गर्न नहुने स्पष्ट रूपमा व्यवस्था गरेको भए पनि व्यवहारमा त्यसको पूर्ण पालना नभएको उल्लेख गरे ।

उनले आयोगमा जातीय विभेदसम्बन्धी उजुरीहरू अझै आउने गरेको, यद्यपि विगतको तुलनामा केही कमी आएको बताए । ‘जातीय विभेद कुनै पनि हालतमा हुनुहुँदैन,’ उनले भने, ‘दलित समुदायको अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग निरन्तर लागिरहेको छ ।’

मगरले मानवसँग जोडिएका सबै अधिकारहरूको संरक्षण आयोगको दायित्वभित्र पर्ने उल्लेख गर्दै दलित, मुस्लिम, आदिवासी जनजाति लगायत सबै समुदायसँग समन्वय गरेर अघि बढिरहेको जानकारी दिए । आयोगले जातीय विभेदसम्बन्धी अनुसन्धान गरी प्रतिवेदन तयार गरिसकेको र त्यसका आधारमा समाधानका उपायहरू अघि बढाइरहेको उनले बताए । ‘मानिससँग जोडिने हरेक कुराको संरक्षण राष्ट्रिय मानव अधिकार आयोगसँग जोडिएको छ । हामी सबै दलितको, मुस्लिमको, आदिवासी जनजाति सबै यसमा पर्छन् हामी सबै आयोगसँग समन्वय गरेर अघि बढीरहेका छौं । राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेद सम्बन्धी अनुसन्धान गरेको छ, प्रतिवेदन पनि तयार गरेको छ त्यसमा विभिन्न कुराहरु छन् जो उल्लेख समेत गरिएका छन् । त्यसमा जातीय विभेद कसरी रोक्न सकिन्छ भनेर अघि बढीरहेका पनि छौं । सरकारलाई सुझाव दिएका छौं, तर त्यसको कार्यान्वयन हुनुपर्छ । कानुन मात्र भएर पुग्दैन,’ उनले भने ।

यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाली समाजमा विद्यमान जातीय व्यवस्थाले त्रासदीपूर्ण अवस्था सिर्जना गरेको बताए । उनले यस अवस्थालाई ‘आतंक’को रूपमा चित्रण गर्दै त्यसले दलित समुदायलाई अत्यन्तै असुरक्षित महसुस गराइरहेको उल्लेख गरे । ‘यो दिवसको माध्यमले नेपाली समाजमा रहेको जुन जात व्यवस्था छ त्यो जात व्यवस्थाले उत्पन्न गरेको त्रासदीपूर्ण अवस्था छ । एक प्रकारले भन्ने हो भने आंतक पनि छ । त्यो आंतकले दलितहरुलाई बाचौं की मरौं भन्ने बनाइरहेको छ । दलित समुदायको मानव अधिकार यसरी हनन भएको छ की अर्को समुदायको मान्छे भेट हुँदाखेरि पनि दलित समुदायको मान्छेलाई आंतक सिर्जना हुन्छ,’ उनले भने ।

विश्वकर्माले नाम, थर वा जात सोध्ने चलनले दलित समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याउने बताए । ‘आफ्नो पहिचान भन्नुपर्ने बाध्यताले उनीहरूको स्वाभिमान धुलोमा मिल्ने अवस्था आएको छ । यस्तो परम्पराले समाजलाई पछाडि धकेलेको छ,’ उनले भने ।

त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव जीवनमा आत्मसम्मान सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । उनले भ्रूण अवस्थादेखि नै मानव सुरक्षाको सुरुवात हुने र जन्मपश्चात पोषण, शिक्षा तथा स्वास्थ्यको सुनिश्चितता आवश्यक रहेको बताए ।

कार्कीले सुरक्षा केवल भौतिक सुरक्षामा सीमित नभई ‘मानव सुरक्षा’को व्यापक अवधारणामा बुझ्नुपर्ने धारणा राखे । ‘२१औँ शताब्दीमा आइपुग्दा पनि जातीय र रंगभेदका कुरा भइरहनु दुःखद हो । यसको छिट्टै अन्त्य गर्न हामी सबैको साझा दायित्व छ,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update