काठमाडौं - नेपालको मुटुमा सन् ९० को दशकको सुमधुर संगीतको युग फर्कदैछ । आगामी अप्रिल ८, २०२६ मा म्याड इन्टरटेनमेन्टले ठमेलस्थित विश्वप्रसिद्ध क्लब ‘एलओडी’मा चर्चित दुई संगीतका हस्तीलाई मन्चमा उतार्ने भएको हो ।
यस विशेष साङ्गीतिक यात्रामा दुई हस्तीहरू-बलिउडका दिग्गज गायक विनोद राठोड र नेपाली पप आइकन अनीश ओकेली-एउटै मञ्चमा देखिनेछन् । ‘बाजीगर’ र ‘दिवाना’ जस्ता चलचित्रका सदाबहार गीतहरूमा स्वर दिएका राठोडले ‘ऐसी दीवानगी’ र ‘छुपाना भी नही आता’ जस्ता गीतहरू प्रस्तुत गर्नेछन् ।
आयोजक संस्था म्याड इन्टरटेनमेन्टका संस्थापक मनिष अधिकारीका अनुसार राठोडसँगै नेपाली तन्नेरी पुस्ताका ढुकढुकी अनीश ओकेलीले ‘मेरी ओकेली’ र ‘गुलाबी जादू’ जस्ता आफ्ना चर्चित गीतहरूबाट दर्शकलाई नचाउनेछन् ।
साँझ ८ बजे सुरु हुने कार्यक्रममा व्यावसायिक ‘डीएनबी’ अडियोटेक्निक साउन्ड सिस्टम ३६० डिग्री स्टेज भ्यु सहितको क्लबमा ९० को दशकका सङ्गीत प्रेमीहरूले एक अविस्मरणीय साङ्गीतिक अनुभव दिलाउन लागेको अधिकारीले जानकारी दिए । ‘यो नेपालका लागि दुर्लभ साङ्गीतिक कार्यक्रम हुनेछ । किनकि विश्वका उत्कृष्ट १०० क्लबहरूको सूचीमा ४४औँ स्थानमा रहेको एलओडीमा स्टार कलाकारहरूको साथमा यस्तो भव्य प्रस्तुति साँचै दुर्लभ र अविस्मरणीय बनाउने प्रयासमा छौँ,’ अधिकारीले भने ।
बलिउडका चर्चित गायक विनोद राठोडले सुपरस्टार कलाकारहरू शाह रुख खान, सलमान खान र सञ्जय दत्तको स्टारडम पछाडिको आवाज दिइसकेका छन् ।

