Harsamaya
सेयर बजारमा तीव्र गिरावट, नेप्से ४६ अंकले घटेर २७९६ मा
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बुधबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६ बिन्दुमा झरेको छ।

बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि भने सूचक निरन्तर ओरालो लागेर कारोबार बन्द भएको हो। यसअघि सोमबार सकारात्मक सर्किट ब्रेक लाग्दै नेप्से २८७५ अंकसम्म पुगेको थियो। तर त्यसयताका दुई कारोबार दिनमा बजार कुल ७९ अंकले घटेको छ।

आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ, जुन करिब ३८ प्रतिशतले कम हो।

समूहगत सूचकमा सबैभन्दा धेरै व्यापार समूह ३.४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ तथा अन्य समूह १.८३ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा साल्पा विकास बैंक र नेसनल हाइड्रोपावर को सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स को ९.३३ प्रतिशत तथा रिडी पावर को ५.७२ प्रतिशतले मूल्य वृद्धि भएको छ।

यता कालिका पावर को सेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले घटेको छ। साथै पन्चकन्या माइ हाइड्रोपावर को ५.७७, थ्रीस्टार हाइड्रोपावर को ५.३७ तथा ट्रेड टावर को ४.४७ प्रतिशतले मूल्य घटेको छ।

बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप रहेका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update