जनकपुरधाम - धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन परिणाम विवादमै रहेको बेला मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार यादवलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
यस क्षेत्रमा सबैभन्दा बढी मत ‘घन्टी’ चुनाव चिन्हमा परेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज भएको कारण उनको मत परिणाम सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि मतगणनाको अन्तिम परिणाम घोषणा अन्योलमा परेको थियो।
अन्तिम मतगणनाअनुसार यादवले १० हजार ४०३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी रामपल्टन साह (नेपाली कांग्रेस) ले ९ हजार ५०२ मत र रामचन्द्र मण्डल (नेकपा एमाले) ले ९ हजार ३१५ मत प्राप्त गरेका छन्।
रास्वपाका उम्मेदवार शाहले उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल धनुषा–१ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो।
यद्यपि उम्मेदवार खारेज भएपछि आफू पहिलो स्थानमा रहेको दाबी गर्दै यादवले परिणाम घोषणा गर्न दबाब दिएका थिए। उनका समर्थक तथा पार्टीका नेता–कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना समेत दिएका थिए।
विवादकै बीच निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

