काठमाडौं - गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। अधिकांश निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अझै जारी छ।
यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेखनीय प्रवेश गराएको छ। ३५ वर्षमुनिका २३ जना उम्मेदवार प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
तीमध्ये २० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक र श्रम संस्कृति पार्टीबाट एक जना निर्वाचित भएका छन्।
सबैभन्दा कम उमेरका सांसदहरूमा ३० वर्षीया सोविता गौतम अग्रपङ्क्तिमा हुनुहुन्छ। दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिनुभएकी गौतम यसपटक चितवन–३ बाट ५९ हजार २७७ मतसहित विजयी भइन् । उनले नेकपाकी रेणु दाहाललाई २० हजार ६१५ मतमा सीमित गरिन् । गौतम ३० वर्षको उमेरमै दोस्रोपटक प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी हुन् ।
यसैगरी, २८ वर्षीय सुलभ खरेल रूपन्देही–२ बाट ५६ हजार ५५० मतसहित विजयी भए । उनले एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पराजित गरे ।
मोरङ–६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरेकी हुन् ।
काभ्रेपलाञ्चोक–२ बाट बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भए । भण्डारी ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी हुन् ।
झापा–१ बाट निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भइन् । उनी यसअघि समानुपातिकतर्फबाट सांसद रहेका थिए ।
यसैगरी, नवलपुर–२ बाट २६ वर्षीय मनीष खनाल, सिरहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता, मोरङ–४ बाट ३४ वर्षीय सन्तोष राजवंशी, सिराहा–२ बाट शिवशंकर यादव, सिराहा–४ बाट तपेश्वर यादव, महोत्तरी–२ बाट दीपककुमार साह र महोत्तरी–३ बाट उज्ज्वलकुमार झा निर्वाचित भएका छन्।
काठमाडौँ–५ बाट २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भए । उनले काठमाडौँ महानगरपालिकाका सह–विशेषज्ञ तथा नगरप्रमुख बालेन्द्र शाहका सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन् ।
मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती, गुल्मी–१ बाट सागर ढकाल, प्युठान–१ बाट सुशान्त वैदिक, काठमाडौँ–१ बाट रञ्जु न्यौपाने (दर्शना), बाग्लुङ–२ बाट सोम शर्मा, स्याङ्जा–२ बाट झविलाल डुम्रे, सप्तरी–२ बाट रामजी यादव र कैलाली–२ बाट केपी खनाल पनि युवा सांसदका रूपमा निर्वाचित भएका छन्।
अन्य दलबाट पनि केही युवा उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट मुस्ताङ–१ मा ३२ वर्षीय योगेश गौचन थकाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला–१ मा ३४ वर्षीय ज्ञानबहादुर शाही तथा श्रम संस्कृति पार्टीबाट खोटाङ–१ मा २९ वर्षीय आरेन राई निर्वाचित भएका छन्।
यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा दिएको विश्लेषकहरू बताउँछन्। अब संसद्मा प्रवेश गरेका युवा सांसदहरूले जनताको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने प्रश्न भने आगामी दिनमा स्पष्ट हुने देखिन्छ।

