काठमाडौं - रास्वपाका नेता अमरेश सिंहले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै खुल्लापत्र सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पत्रमा सिंहले सर्लाहीमा आएर चुनाव लडेकोमा थापालाई धन्यवाद दिएका छन्। तर उनले थापा भ्रष्ट समूहले अघि सारेको ‘आयातित उम्मेदवार’ बनेको आरोप समेत लगाएका छन्।
सिंहले पत्रमा आफूविरुद्ध व्यक्तिगत र पारिवारिक जीवनमाथि टिप्पणी गराइएको आरोप लगाउँदै राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने उल्लेख गरेका छन्।
उनले अब चुनावका तिता कुरा छाडेर देश निर्माणतर्फ अगाडि बढ्नुपर्ने बताएका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचारविरुद्ध जनमत प्राप्त गरेर अघि बढेको दाबी पनि गरेका छन्।
सिंहले भविष्यमा विभिन्न मुद्दामा सहकार्य हुन सक्ने उल्लेख गर्दै थापाले पनि भ्रष्ट व्यक्तिहरूको साथ छोडेर स्वच्छ राजनीति गर्ने अपेक्षा व्यक्त गरेका छन्।
पत्रको अन्त्यमा उनले थापाको आगामी राजनीतिक यात्रा सफा र स्वच्छ रहोस् भन्ने शुभकामना दिएका छन्।

