काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर उच्चस्तरीय अनुगमन टोली खटाएको छ ।
आयोगले काठमाडौं उपत्यका र अन्य जिल्लामा आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित टोली गठन गरी निर्वाचन प्रक्रियाको अनुगमन गर्ने आयोगले जनाएको छ । यसअघि आयोगले विभिन्न जिल्लामा निर्वाचनपूर्व अनुगमन गरी प्राप्त तथ्यांकका आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरुलाई आवश्यक सुझाव र ध्यानाकर्षण गराइसकेको छ ।
आयोगले निर्वाचनलाई लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर मानव अधिकारको सवालको रूपमा हेर्दै सम्पूर्ण मतदाताहरुलाई उत्साहपूर्ण रूपमा मतदानमा सहभागी हुन अनुरोध गरेको छ । साथै, मौन अवधि सुरु भइसकेको हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियामा सहयोग पु¥याउन सम्पूर्ण राजनीतिक दललाई पनि आग्रह गरिएको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्दै आयोगले राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र आम नागरिकलाई यस कार्यमा सहयोग पुर्याउन प्रेरित गरेको छ। आयोगले सरकारलाई देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाउन र मौन अवधिमा कुनै अवाञ्छित गतिविधि नगर्न निर्देशन दिएको छ ।
त्यसैगरी आयोगले निर्वाचन अवधिमा स्वास्थ्यसेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताको सवारी सुविधा र हवाई उडान जस्ता अत्यावश्यक सेवाहरु सुचारु राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुने अपेक्षा व्यक्त गरेको छ ।

