Harsamaya
राजसंस्था पुनस्थापनाको पक्षमा रहेका तीन राष्ट्रवादी धारबीच ऐक्यबद्धता
राजसंस्था पुनस्थापनाको पक्षमा रहेका तीन राष्ट्रवादी धारहरू ।

काठमाडौं - राजसंस्था पुनस्थापनाको पक्षमा रहेका तीन राष्ट्रवादी धारका संस्थाहरूले संयुक्त रूपमा ‘राष्ट्रिय संकल्प अनुबन्ध’ सार्वजनिक गर्दै वैदिक सनातन धर्म सापेक्ष अधिराज्य नेपालको पुनस्र्थापनाका लागि एकताबद्ध रूपमा अघि बढ्ने घोषणा गरेका छन् ।

शनिबार आयोजित कार्यक्रममा जेन–जी अलायन्स फर मोनार्की, राष्ट्रिय शक्ति नेपाल र राष्ट्रिय सरोकार मञ्च नेपालका हस्ताक्षरित प्रतिनिधिहरूले वर्तमान राष्ट्रिय संकटको समाधानका लागि साझा धारणा सार्वजनिक गरेका हुन् ।

उनीहरूले राष्ट्रप्रेम, सभ्यतागत विरासत र सार्वभौमिक कर्तव्यको भावनाबाट प्रेरित भई एकै छातामुनि संगठित भएको जनाएका छन् ।अनुबन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शाही घोषणालाई पूर्ण समर्थन जनाइएको छ । उक्त घोषणामा नेपालको राजनीतिक संकट संरचनात्मक तथा सभ्यतागत प्रकृतिको रहेको र २०६५ सालमा राजसंस्था अन्त्य भएपछि मुलुकमा सुशासनको क्षय, राष्ट्रिय एकताको कमजोर अवस्था तथा सार्वभौमसत्तामाथि दबाब बढ्दै गएको उल्लेख गरिएको थियो । हस्ताक्षरकर्ताहरूले निर्वाचन प्रक्रिया मात्रले यी समस्याको समाधान गर्न नसक्ने धारणा दोहोर्याएका छन् ।

संयुक्त प्रतिबद्धताअनुसार तीनै संस्थाले शाही सम्बोधनलाई विनासर्त समर्थन गर्ने, सार्वजनिक जीवन र नीतिगत वकालतमार्फत त्यसको मर्मलाई अघि बढाउने तथा नागरिक परिचालनलाई सशक्त बनाउने बताएका छन् ।

साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत भएका चुनावी चक्रहरूले पद्धतिगत बेथिति, भ्रष्टाचार र सार्वभौमिकताको क्षय निम्त्याएको दाबी गर्दै भविष्यका प्रजातान्त्रिक प्रक्रियासँगै संरचनात्मक सुधार अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ ।

अनुबन्धमा राजसंस्थालाई साझा अभिभावकीय स्तम्भका रूपमा स्वीकार गर्दै वैदिक सनातन धर्म सापेक्ष अधिराज्य पुनस्र्थापनाका लागि निष्पक्ष राष्ट्रिय संवाद सञ्चालन गर्न शान्तिपूर्ण र कानुनी वकालत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्तिगत वा दलीय स्वार्थ त्यागेर एउटै स्वरमा संवैधानिक सुधार र सभ्यतागत पहिचान पुनस्र्थापनामा लाग्ने शपथ समेत लिइएको छ ।

कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर विष्ट, जेन–जी अलायन्स फर मोनार्कीका केन्द्रीय अध्यक्ष सोम विक्रम सिंह तथा राष्ट्रिय सरोकार मञ्च नेपालका सनातन उपाध्याय रिजाललगायतले दस्तखत गरेका थिए ।

उक्त अनुबन्धलाई हस्ताक्षरकर्ताहरूले ‘अनन्त कालसम्मका लागि गरिएको नैतिक, वैचारिक र ऐतिहासिक संकल्प’ का रूपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update