Harsamaya
सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपिओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

निष्कासन गरिएको कुल शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त आईपीओ छिटोमा फागुन ११ गतेसम्म र ढिलोमा फागुन १९ गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएको थियो ।

उक्त स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update