Harsamaya
झापा गोल्डकपको उपाधि मच्छिन्द्रले चुम्यो 
सातौँ झापा गोल्डकपो विजेता मच्छिन्द्र फुटबल क्लबका खेलाडीहरू ।

झापा - मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सातौँ झापा गोल्डकप फुटबलमा सशस्त्र प्रहरी (एपीएफ) क्लबलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको छ।

उपाधिसँगै मच्छिन्द्रले १५ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले ७ लाख ५० हजारमा चित्त बुझाएको छ। यस संस्करणको झापा गोल्डकप हालसम्मकै सबैभन्दा उच्च पुरस्कार राशि भएको प्रतियोगिता मानिएको छ।

खेलमा मच्छिन्द्रले ३१औँ मिनेटमा स्ट्राइकर प्रदीप बुढाथोकीको गोलमार्फत अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा देवेन्द्र तामाङको गोलले मच्छिन्द्रलाई २–० को स्थितिमा पुर्‍यायो। दोस्रो हाफमा एपीएफले खेलमा फर्कने प्रयास गरेको भए पनि ७६औँ मिनेटमा मानबहादुर राना मगरको रातो कार्डपछि एपीएफ १० खेलाडीमा सीमित भयो। ८२औँ मिनेटमा एपीएफले गोल गरे पनि मच्छिन्द्रले एक मिनेटमै निर्णायक गोल गर्दै जीत सुनिश्चित गर्यो।

खेलमा प्रदीप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता घोषित भएका खेलाडीहरूले नगद पुरस्कार र यामाहा मोटरसाइकल प्राप्त गरे।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली, विभिन्न ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र मलेसियाका क्लबहरू सहभागी भएका थिए।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update