रौतहट - मधेश राजनीतिका पुराना नेता अनिल झा यसपटक नेपाली काँग्रेसबाट रौतहट–१ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। लामो समय क्षेत्रीय दलमार्फत राजनीति गर्दै आएका झा अहिले कांग्रेसको ‘रुख’ चिह्नबाट चुनावी मैदानमा उत्रिएका हुन्।
२०४८ सालपछि मधेश राजनीतिमा उदाएका झा नेपाल सद्भावना पार्टीबाट राजनीतिमा सक्रिय भए। त्यसपछि उनले मधेशी जनअधिकार फोरम, जसपा र लोसपा जस्ता दलमा समेत आवद्ध भएर स्थानीय र क्षेत्रीय राजनीतिको बिउँ रोप्दै पटक-पटक सांसद र मन्त्री बन्ने अवसर पाएका थिए।
अहिले झा कांग्रेसमा प्रवेश गरी रौतहट–१ मा चुनाव लड्दैछन्। उनले हामीसँगको संवादमा बताए, ‘दल वा चुनाव चिह्न परिवर्तन गर्दा दायित्व परिवर्तन हुँदैन। मधेश मेरो दायित्व हो। मैले मधेश र लोकतन्त्रका लागि ३७ वर्षदेखि काम गर्दै आएको छु र म आफू बाचुन्जेल यो यात्रा जारी राख्नेछु।’
झाका अनुसार कांग्रेसले पछिल्लो महाधिवेशनपछि मधेश अधिकारका सवाललाई आफ्नो दस्तावेज र नीति–कार्यक्रममा समेटेको छ। ‘सभापति गगनकुमार थापाले मधेशका सवाल उठाइरहनुभएको छ, र यो स्तरको कुरा कांग्रेसले गर्न थालेपछि मैले कांग्रेसको टिकट लिएर चुनाव लड्ने निर्णय गरेको हुँ। यसबाट देखिन्छ, म कांग्रेसमा आएको हुँ कि म जस्तो कांग्रेस आएको छ,’ उनले भने।
चुनावी प्रतिस्पर्धा र रणनीति
रौतहट–१ क्षेत्र पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको गृह क्षेत्र पनि हो। झाले भने, ‘अघिल्लो पटक म यहाँ उम्मेदवार थिएँ र उहाँलाई नै समर्थन गरेको थिएँ। अहिले उहाँ वर्तमान सांसद हुनुहुन्छ र स्वाभाविक रूपमा जनतामा असन्तुष्टि छ। म विकल्पका रूपमा चुनावमा उभिएको हुँ।’
झाले आफ्नो जितको आधार पनि स्पष्ट पारे। उनले भने, ‘मैले २०७४–२०७९ सम्म यहाँ सांसदको रूपमा काम गरेँ। मैले कसैको अहित गरेको छैन। कांग्रेसको बलियो संगठन र मेरो विगतको कार्यक्षमता मेरो पहिलो आधार हो। दोस्रो, म विगतमा कांग्रेसकै उम्मेदवारलाई हराएर यहाँ चुनाव जितेको हुँ। तेस्रो, मेरो व्यक्तिगत छवि र समाजमा विश्वासले पनि यो आधार दिन्छ। यसले देखाउँछ कि म चुनाव जित्न सक्षम छु।’
संघीयता र मधेशका सवाल
संघीयताको विषयमा उनले भने, ‘संघीयता मधेशले स्थापित गरेको हो। यो विपक्षमा रहेकाले कतिपयमा आशंका छ। तर कांग्रेसले संघीयतालाई निरन्तरता दिन भूमिका खेलेको छ। संघीयता केवल एक पार्टीको प्रयास होइन, सहमति र राजनीतिक समझदारीको परिणाम हो।’
मधेशमा अहिले पनि मधेशवादी शक्ति सक्रिय रहेको उनले बताए। ‘म त्यहाँ नभए पनि आन्दोलनको नेतृत्व र आवश्यकता कायम छ। क्षेत्रीय शक्ति कमजोर हुँदा एजेन्डा पनि कमजोर हुन्छ, तर यस क्षेत्रमा जनमत परिवर्तन भएको छ, त्यसैले व्यक्ति परिवर्तनले पनि फरक पार्छ,’ झाले स्पष्ट पारे।
मतदाता र चुनावी माहोल
झाले मतदाता बीचको विश्वास र चुनावी रणनीतिका बारेमा पनि बोले। ‘कुनै क्षेत्र कमजोर हुन्छ, कुनै बलियो। यहाँ ३९ जना उम्मेदवार छन्, प्रत्येकको मत छ। निर्वाचन क्षेत्रको वास्तविक मतदातालाई हेर्दा मत परिवर्तनले परिणाम तय गर्नेछ। संगठन र व्यक्तिको सामूहिक प्रभावले नै जित तय गर्छ।’
उनले बालेन शाहको उदाहरण पनि उल्लेख गर्दै भने, ‘बालेनजीसँग मेरो व्यक्तिगत कुनै मित्रता वा द्वन्द्व छैन। यहाँ पनि मतदाता आफ्नो विकल्प खोज्दैछन्। म विकल्पका रूपमा प्रस्तुत भएको हुँ, लहडमा होइन।’
अन्त्यमा
झाले दोहोर्याए, ‘मेरो चुनाव चिह्न बदलियो, तर मधेश र लोकतन्त्रप्रतिको मेरो प्रतिबद्धता अपरिवर्तित छ। लोकतन्त्र र अधिकारका लागि काम गर्ने मेरो यात्रा निरन्तर रहनेछ। चुनावपछि देश पुनः सही ट्रयाकमा आउनेछ।’

