Harsamaya
पर्सामा मत परिवर्तनको संकेत: वीरगञ्जमा बालेन साहको क्रेज बढ्दै
ग्राफिक्स: हर समय/Har Samaya

पर्सा - पर्साको औद्योगिक शहर वीरगञ्ज अहिले केवल चुनावी रौनकले नभई आर्थिक चुनौती, व्यापार घट्ने चिन्ता र रोजगारीको कमीले पनि चर्चामा छ। स्थानीय मतदातामा पुराना दलप्रति वितृष्णा बढिरहेको देखिन्छ भने नयाँ शक्ति बालेन साहप्रति आकर्षण बढ्दै गएको खुलेको छ।

गत आइतबार साँझ वीरगञ्ज पुगेका बालेन साहले विभिन्न क्षेत्रका मतदातासँग संवाद गरे। हनुमान माध्यमिक विद्यालय, गहवा मन्दिर परिसर र स्थानीय बजारमा पुगेका उनका भेटघाटले जनताको उत्साह स्पष्ट देखायो। स्थानीय शिक्षक, व्यापारी र आम नागरिकसँग कुरा गर्दा धेरैले आफ्नो मत परिवर्तन गर्ने संकेत दिएका थिए।

पूर्वप्रधानाध्यापक शत्रुघन गिरीले भने, ‘माथिमाथि कांग्रेस र एमाले देखिन्छन्, तर भित्रभित्रै घण्टीमा मतदान गर्ने खेल भइरहेको छ। यसपटक मतदाताहरू पार्टीभन्दा माथि उठेर मतदान गर्ने तयारीमा छन्। बालेन साहको क्रेज पर्सामा पनि फैलिएको छ।’

स्थानीय व्यापारी विनोद सिंहले भने, ‘यहाँ उम्मेदवार को छ म चिन्दिनँ, बालेन साहको नाममा भोट हाल्छु।’ वीरगञ्ज महानगरपालिका वडा २४ का रामजी पटेल र उनका परिवारले पनि यसपटक मत परिवर्तन गर्ने निर्णय सुनाए। रामजीले भने, ‘घण्टीको उम्मेदवार जो कोही भएपनि बालेन सरकारको नाममा मतदान गर्छौं।’

वीरगञ्ज महानगरपालिका २५ का भुटाइ दमान र उनकी श्रीमती रिजवाना खातुनले पनि विगतमा एमालेलाई मत दिएका भए पनि यसपटक परिवर्तनको संकेत दिएका छन्। अपौलीका ३० वर्षीय निरन्जन चौरसियाले पनि परिवारसहित मत परिवर्तन गर्ने बताए।

विन्ध्यावासिनी गाउँपालिका क्षेत्रमा मतदाताले नयाँ विकल्पतर्फ झुकेको देखिन्छ। ४५ वर्षीया मनोरमा देवी, उनका पति ५० वर्षीय रामप्रवेश हाजरा र २५ वर्षीय छोरा सुनिल हाजराले यसपटक घण्टीमा मतदान गर्ने बताएका छन्। गाउँपालिकाका मुख्य पूजारी पुरुषोत्तम अधिकारीको सल्लाह अनुसार समुदायका अधिकांश मतदाता पनि त्यसको पालनामा छन्।

त्यसैगरी बहुअर्वा भट्टाका ४७ वर्षीय भिखारी साह सुनार र उनका २० वर्षीय छोरा बलवान कुमार सर्राफले भने, ‘गत निर्वाचनमा सूर्य चिह्नमा मत दिएका थियौं, तर यसपटक सबै परिवारका १० जनाले मत परिवर्तन गर्ने निर्णय गरेका छौं।’ सखुवापर्सौनी गाउँपालिका वडा ५ का २३ वर्षीय सुन्दर साहले पनि आफ्नो परिवारसहित मत परिवर्तन गर्ने बताएका छन्।

गर्दौलमा साँझ घुर तापिरहेका ६ जनाको समूह –५३ वर्षीय मदन दास पटेल, ६७ वर्षीय जदु मुखिया, ७२ वर्षीय झमन महतो, ४० वर्षीय वीर मुखिया, ३५ वर्षीय जगदीश राय र २२ वर्षीय नितेश मिश्र – ले पनि पुराना दलको दबाब नमान्ने र स्वतन्त्र मतदान गर्ने स्पष्ट गरेका छन्। जदु मुखियाले भने, ‘यदि पालिका वा पार्टीबाट दबाब आयो भने त्यसलाई मान्दैनौं। पैसा बाँड्न आएका हुन् भने उल्टै पठाइदिनेछौं।’

बालेन साहको वीरगञ्ज यात्राले मतदातामा उत्साह जगाएको देखिन्छ। उनले स्थानीयका गुनासो सुने, रोजगार र व्यापारको अवस्था बुझे र युवाहरूलाई सक्रिय मतदानका लागि प्रेरित गरे। यो भेटघाटले मतदातामा पुराना दलभन्दा नयाँ विकल्पतर्फ झुकेको भावना अझ स्पष्ट बनाएको छ।

पर्सामा प्रदीप यादव, अजय चौरासीया, रमेश रिजाल, अनिल रुगंटा जस्ता पुराना उम्मेदवार भए पनि मतदातामा परिवर्तनको चाहना बढ्दै गएको देखिन्छ। धेरैले पुराना दललाई दोहोरिएको, प्रभावसाली तर जनताको अपेक्षा पूरा नगरेको र नयाँ विकल्प खोजिरहेको बताउँछन्।

हाल दुई दिनको फिल्ड भ्रमण र बालेन साहको प्रत्यक्ष भेटघाटले देखाएको मुख्य संकेत यही हो कि वीरगञ्ज र आसपासका क्षेत्रका मतदाताहरू अब पुराना शक्ति संरचनाबाट टाढा हुँदै नयाँ विकल्पतर्फ झुकिरहेका छन्। आगामी निर्वाचनको नतिजाले यो परिवर्तनको वास्तविक स्वरूप देखाउनेछ, तर मतदाताको जागरुकता र नयाँ शक्ति प्रति विश्वासको संकेत यथार्थ हो।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update