Harsamaya
‘रास्वपा सामाजिक सञ्जालबाट उदाएको पार्टी हो, मेरो प्रतिस्पर्धी कोही छैन’ : अनिल रुगांटा
 पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अनिल रुगांटा ।

वीरगञ्ज - पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अनिल रुगांटाले आफू चुनावी प्रतिस्पर्धामा अगाडि रहेको दाबी गरेका छन् । रास्वपालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालबाट उदाएको पार्टी स्थायी शक्ति बन्न नसक्ने टिप्पणी गरे।

व्यापारिक पृष्ठभूमिका रुगांटा २०४० को दशकमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका नेता हुन्। संविधानसभा सदस्यको रूपमा संविधान निर्माण प्रक्रियामा भूमिका निर्वाह गरिसकेका उनी यतिबेला घरदैलो अभियानमार्फत मतदातासँग भेटघाटमा व्यस्त छन्।

घरदैलो अभियान सकारात्मक रहेको बताउँदै रुगांटाले आफ्नो मुख्य एजेन्डा वीरगञ्जको आर्थिक पुनरुत्थान भएको बताए। ‘वीरगञ्ज नेपालकै आर्थिक राजधानी हो। तर पछिल्लो १० वर्षमा यहाँको आर्थिक गतिविधि पातलो हुँदै गएको छ,’ उनले भने, ‘उद्योगी–व्यवसायीले गौरव गुम्दै गएको अनुभूति गरेका छन्। युवाहरू रोजगारी नपाएर समस्यामा छन्।’

उनका अनुसार सीमावर्ती भारतीय बजारमा बढी व्यापार हुनु र वीरगञ्जमा व्यापार खस्कनु नीतिगत कमजोरीका कारण भएको हो। उद्योगहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्नु, लगानीमैत्री वातावरण अभाव र रोजगारीका अवसर घट्नु मुख्य समस्या भएको उनले बताए। कांग्रेस नेतृत्वमा सरकार बने नीतिगत सुधारमार्फत उद्योग–व्यवसाय पुनर्जीवित गर्ने र रोजगारी सिर्जना गर्ने उनले प्रतिबद्धता जनाए।

निवर्तमान मन्त्री तथा प्रतिस्पर्धी उम्मेदवार प्रदीप यादवतर्फ संकेत गर्दै उनले विगतमा निर्वाचित प्रतिनिधिबाट ठोस विकासका काम नभएको आरोप लगाए। ‘पार्टी परिवर्तन बाहेक विकास देखिएन,’ उनले भने, ‘स्वार्थअनुसार पार्टी फेर्नेले विकास गर्न सक्दैन।’

रास्वपाको बढ्दो प्रभावबारे सोधिएको प्रश्नमा उनले सामाजिक सञ्जालबाट जन्मिएको पार्टी दीर्घकालीन रूपमा सफल हुन नसक्ने दाबी गरे। ‘सबै दल आन्दोलनबाट जन्मिएका हुन्। सामाजिक सञ्जालबाट जन्मिएको पार्टी स्थायी हुँदैन,’ उनले भने, ‘अनुभव र योजना नभएका शक्तिले काम गर्न सक्दैन।’

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहलाई भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएको विषयमा उनले कांग्रेस महामन्त्री गगनकुमार थापासँग तुलना गर्दै क्षमता र भिजनमा फरक रहेको टिप्पणी गरे। ‘गगन थापा योजनासहितको नेतृत्व हो,’ उनले भने।

विशेष महाधिवेशनपछि कांग्रेस नयाँ नेतृत्वसहित चुनावमा होमिएको उल्लेख गर्दै त्यसको प्रभाव आफ्नो क्षेत्रमा पनि परेको उनले बताए। युवापुस्ताको भावना बुझ्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। मधेशबाट कांग्रेस नेतृत्वले चुनाव लड्नुले समग्र मधेशमा सकारात्मक सन्देश गएको उनले दाबी गरे।

मधेशमा कांग्रेसप्रति देखिएको असन्तुष्टिबारे उनले भौतिक पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसकेको स्वीकार गरे। ‘यसमा पार्टी चुकेको छ,’ उनले भने, ‘तर संविधान निर्माण र अधिकार प्रत्यायोजनका विषयमा कांग्रेसले निर्णायक भूमिका खेलेको छ।’

पार्टीभित्र अन्तरघातको सम्भावनाबारे उनले पर्सामा कांग्रेस एकढिक्का रहेको बताए। ‘पार्टी एकजुट छ। यही नै मेरो जित्ने आधार हो,’ उनले भने, ‘म पात्र मात्र हुँ, सफलता सिंगो पार्टीको हुनेछ।’

रुगांटाले विकासलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा अघि बढेको दोहोर्‍याउँदै आफू जनताको साथ र विश्वासका आधारमा विजयतर्फ अग्रसर रहेको दाबी गरे।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update