Harsamaya
ज्यान मार्ने धम्की दिने प्रकाशलाई ६ वटा मुद्दा, तीन दिन म्याद थप
काठमाडौँ जिल्ला अदालत ।

काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई इमेलमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका एक व्यक्तिविरुद्ध ६ वटा मुद्दा दर्ता गरिएको छ। अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय प्रकाश पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी आजै नेपाल ल्याइएको हो।

उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।

पाठकले सन् २०२५ अक्टोबर २२ मा आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप’ वा ‘नेपाल इजिएन’को अध्यक्ष बताउँदै आफ्नो इमेलबाट अख्तियारका प्रमुख आयुक्तलगायत १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोप छ।

उनीविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपराधिक लाभ लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने लगायतका आरोपमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। घटनापछि उनलाई खोजी सूचीमा राखिएको थियो।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update