Harsamaya
नेप्से करिब स्थिर हुँदा पाँच उपसमूहमा हरियाली
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार भने झिनो अंकले मात्रै घटेको छ ।

यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ ।

नेप्से करिब स्थिर रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन रिडी पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने आँखु खोला जलविद्युत कम्पनीको सेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, सुमर माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा पनि रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढेका छन् भने बाँकी उपसमूहहरूमा झिनो गिरावट देखिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update