झापा - आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा पहिलो क्वाटरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई ४–३ गोल अन्तरले टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय टाइब्रेकरबाट भएको थियो। झापा–११ का रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गरे।
सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे भने सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले रोके।
खेल अवधिभर झापा–११ ले सिङलिङमाथि निरन्तर दबाब बनाउँदै आक्रामक खेल देखाएको थियो। खेलको २८औँ मिनेटदेखि टोलीले आक्रमणमा गति लिए पनि गोल हुन सकेन। सिङलिङका विदेशी खेलाडी ओलावाको अफिज प्रहार झापाका गोलकिपर विल्सन शेर्पाले रोकेका थिए।
खेलको ५९औँ मिनेटमा सिङलिङका कप्तान उत्तम राईले उत्कृष्ट अवसर सिर्जना गरे पनि झापा–११ का गोलकिपर विवेक मगरले त्यसलाई सफलतापूर्वक रोके। खेलको ‘प्लेयर अफ दी म्याच’ विवेक मगर घोषित भए र उनले रु २५ हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा मङ्गलबार दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालिगुँरास एशोसिएसन पोखराबीच हुनेछ। विजेताले रु १५ लाख र उपविजेताले रु ७ लाख ५० हजार पुरस्कार पाउनेछन्।
उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् भने विधागत उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही रु ३५ हजार प्रदान गरिने आयोजक केदार गिरीले जानकारी दिए।

