Harsamaya
ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले छाडे पार्टी
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङ ।

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् ।

नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । रुम्जाटार गाविसका पूर्वअध्यक्ष समेत रहेका गुरुङ अम्बिरबाबु समूहसँग कुरा नमिलेर नेकपामा प्रवेश गरेका थिए ।

नेकपा केन्द्रीय सदस्यको सपथ लिएर जिल्लाको जिम्मेवारीमा गएका गुरुङले अन्तिममा अम्बिरले नै एमाले छाडेर टिकट पाएपछि असहमति जनाएका हुन् । जुन प्रवृतिविरुद्ध लड्न नसकेर एमाले छाडे उसैले टिकट पाएपछि आफू नेकपामा बस्न नसकेको भनाइ छ ।

उनले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएर आजबाटै क्रियाशील भएको घोषणा समेत गरेका छन् । सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।

अम्बिरबाबु र सिताराम एकै वडाका हुन् । ओखलढुंगामा अम्बिरबाबु र जिबी खड्कको टिम एमाले छाडेपछि विगतमा एमाले छाडेका निष्क्रिय बसेको नेता कार्यकर्ता भने पार्टीमा फर्केर चुनावी अभियानमा लाग्ने क्रम बढेको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update