काठमाडौं - मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोलाको किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार हिजो (माघ १९ गते) साँझ करिब ५:३० बजे उक्त स्थानमा चितुवा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक दिननाथ प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
घटनास्थलमा मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको रोहबरमा आवश्यक मुचुल्का कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ । मुचुल्का सकिएपछि राति करिब ८:१० बजे मृत चितुवालाई गोदाम चौरमा लगेर व्यवस्थापन गरिएको छ ।
प्रहरीका अनुसार उक्त स्थान इलाका प्रहरी कार्यालय चित्लाङबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्दछ । चितुवाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

