Harsamaya
पूर्व राजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिबद्धता पत्र लिएर मतदाता भेट्दै

संखुवासभा - आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्व राजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरूबारे मतदाताहरूलाई बुझाउन थालेको उनले बताए । उनले एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकबाट ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको पनि जानकारी दिए ।

जिल्लामा अन्य राजनीतिक दलहरूले पनि शान्तिपूर्ण रूपमा चुनावी गतिविधि अगाडि बढाएको जानकारी दिँदै उनले जिल्लामा एमालेले आफ्नो विरासत कायम राख्ने गरी तयारी गरिरहेको बताए ।
‘समुन्नत सङ्खुवासभा, समृद्ध नेपाल’ नारासहितको प्रतिबद्धता पत्र जारी गर्दै डा.कार्कीले सङ्खुवासभाकै माटोमा जन्मिएर, हुर्किएर, देश विदेशसम्म विभिन्न जिम्मेवारीमा पुगेर फेरि आफ्नै गाउँ ठाउँ र जिल्लाको विकास गर्ने हुटहुटी लिएर प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको पनि उल्लेख गरेका छन् ।

जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, पूर्वाधार लगायत समग्र विकासको खाकासहित निर्वाचनको मैदानमा उभिएको पनि उनले जानकारी दिए । सङ्खुवासभावासीको विकास र रूपान्तरणको आकाङ्क्षालाई सङ्घीय संसदमा घन्काउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको सम्पर्क र सञ्जाललाई जिल्लाको विकासमा परिचालित गर्ने सङ्कल्प आफूले लिएको पनि उनले जनाए ।

को हुन् डा.अर्जुन कार्की

सङ्खुवासभामा जन्मे हुर्केका डा अर्जुन कुमार कार्की नेपालका अनुभवी राजनीतिक नेता, कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
संखुवासभाका गौरवको रूपमा पनि हेरिने डा कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएका छन् । साथै उनले राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा नेपालको दीर्घकालीन विकास नीति, योजना तथा राष्ट्रिय प्राथमिकता निर्धारण प्रक्रियामा प्रत्यक्ष संलग्न रहँदै आफ्नो जन्म थलो संखुवासभासमेत मुलुकका विभिन्न जिल्ला र क्षेत्रहरूमा योगदान गर्दै आएका छन् ।

उनी सन् २००६ मा नेपालमा लोकतन्त्र पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्ने प्रमुख व्यक्तित्वहरूमध्ये एक हुनुहुन्छ । निरङ्कुश शासनविरुद्धको आन्दोलनमा उनले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक शासन पुनः स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

संयुक्त राष्ट्रसंघ, विश्व बैङ्क, युरोपियन युनियन लगायतका बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ नेतृत्व प्रदान गरेका डा कार्की अब संखुवासभाका जनताको विकास र समृद्धिको चाहना नेपाल को सङ्घीय संसदमा गुञ्जाउन चाहन्छन् । ‘म बाँकी जीवन आफू जन्मिएको थलो र मुलुकको विकासका लागि समर्पण गर्न चाहन्छु ।’ उनले भने ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update