Harsamaya
फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र बनाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने प्रत्यक्षतर्फका मतपत्र छापिइसकेको आयोगले जनाएको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ ।

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका मतपत्र पूर्ण रूपमा तयार भइसकेका छन्। त्यस्तै दैलेखका दुवै निर्वाचन क्षेत्र, सुर्खेतका क्षेत्र नं. १ र २, रुकुम पश्चिम, बाजुरा र अछामका क्षेत्र नं. १ र २, कैलाली क्षेत्र नं. १, झापा क्षेत्र नं. ५ तथा सुनसरी क्षेत्र नं. १ का मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार नमुना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा वितरण गरिसकिएको छ । यसै गरी समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाखभन्दा बढी मतपत्र छपाइको काम पनि पूरा भएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update