Harsamaya
लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द 'विप्लव'।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादीको पार्टी ध्रुवीकरण कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने अठोट रहेको भन्दै आफू मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने बताए ।

उनले भने, ‘हामी जुन सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, त्यसलाई पूरा गर्ने हामीसँग अठोट छ । मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने हामीभित्र अठोट छ । कार्यकर्ताहरु जो अहिले लागि रहेका छन् उनीहरुको जीवन यही माटोमा खोज्ने हामीभित्र आकांक्षा छ ।’

उनले पुष्पकमल दाहाल प्रचण्डले माओवादीको बजनदार जिम्मेवारीलाई बोक्न र थाम्न नसकेर लत्रिदै धेरै पर पुगेको भन्दै फर्किन आग्रह गरेका छन् ।

हिजो लडेका माओवादीहरुलाई पनि होस छ र लडाइँमा बलिदान दिएका आफ्नो मान्छेको सम्झना छ भने माओवादीमा फर्किन पनि उनले आग्रह गरेका छन् ।

उनले भने, ‘मान्छे जम्मा भएर वा धेरै मान्छे भएर कम्युनिष्ट पार्टी ठिक हुने हो, धेरै मान्छे थुपारेर लोभ–लालच देखाएर जनताहरु मान्ने हुन् । आफूले विकास गरेको विचारमा आफै उभिन नसकेपछि आफूले निर्माण गरेको इतिहासको रक्षा आफैंले गर्न नसकेपछि एउटा कुरुप चित्र आन्दोलनमा पैदा हुने रहेछ भन्ने कुरा देख्यौं । त्यसकारण आजको दिनमा कमरेड प्रचण्ड माओवादीको बजनदार जिम्मेवारी त्यसलाई बोक्न नसकेर, थाम्न नसकेर लत्रिदै धेरै पर पुग्नु भएछ । तपाई फर्किनु होस । हिजो लडेका माओवादीहरुमा होस छ भने फर्कियौं ।’

यस्तै, उनले दैनिक विभिन्न खालका नयाँ घटनाक्रमहरु घटिरहेको भन्दै नयाँ राजनीतिक पार्टीहरु जन्मिरहेको र पूराना पार्टीहरु मरिरहेकाले पुनगठन गर्ने प्रयास गरिरहेको बताए ।

कतै एकता हुने, कतै विभाजन हुने काम पनि भइरहेको भन्दै क्रान्तिकारी आन्दोलनमा ठूला ठूला उतारचढावहरु भईरहेको पनि उनको भनाई छ ।

साथै, उनले जनताको आँखामा अहिले सर्वहारा वर्गका नेताहरु मालिकमा र लुटेरामा बदलिएपछि उनीहरुलाई कारबाही गर्न जनता नै हिडेको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update