Harsamaya
नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने वृद्धि
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ । अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ ।

यसदिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ । यद्यपि, बजारमा कारोबार रकम भने बढेको छ । सोमबार ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयरकिनबेच भएको छ ।

यसदिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका सेयरसकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १० प्रतिशत र ट्रेड टावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

यसदिन हिमालयन पावर पार्टनर कम्पनीको सेयरसबैभन्दा धेरै कारोबार भएको छ । जसको सोमबार ६५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयरकिनबेच भएको हो । आँखु खोला जलविद्युत कम्पनीको सेयरकारोबार ५६ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको कारोबार ५२ करोड रुपैयाँ नाघेको छ ।

आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । सर्वाधिक बढेको होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशतले उक्लिएको छ । त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य बढोत्तरी देखिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update