Harsamaya
भारतले नेपाललाई सात सय करोड भारु सहायता दिने, अन्य सार्क मुलुकले कति पाए ?
भारतीय अर्थमन्त्री निर्मला सीतारमण

काठमाडौं - भारतले नेपाललाई दिने अनुदान रकम यस पटक पनि यथावत् नै राखेको जनाएको छ । यसरी भारतको सहायता पाउने दोश्रो मुलुकको रुपमा नेपाल परेको छ ।पहिलोमा भने भुटान परेको छ । 

भारतले भुटानलाई सबैभन्दा बढी सहायता दिने गरेको छ । भारतीय संसदमा अर्थमन्त्री निर्मला सीतारमणले शनिबार भारतको बजेट २०२५/२०२६ सार्वजनिक गरेकी छिन् । सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड (भारु) दिने उल्लेख गरिएको छ ।

भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो । आर्थिक वर्ष २०२३/०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो । त्यसमा वृद्धि गरी २०२४/०२५ मा ७०० करोड (भारु) पुर्याइएको थियो भने त्यसलाई यस वर्ष पनि निरन्तरता नै दिने छ । विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ ।

भुटानको बजेट यस पटक भने घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ । भारतले बंगलादेश र श्रीलंकाको बजेट पनि यथावत् नै राखेको छ । बंगलादेशका लागि १२० र श्रीलंकाका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ । तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ ।

मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक ६०० करोड भारु पुर्याइएको छ । पछिल्लो समय मालदिभ्ससँग भारतको राम्रो सम्बन्ध छैन । यस अवस्थामा पनि भारतले रणनीतिक हिसाबले अनुदान बजेटमा वृद्धि गरेको छ । तर त्यही म्यानमारको सहयोग रकम भने घटाएको छ ।

म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मंगोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् नै राखिएको छ । भारतले विपत्ति राहत रकमका लागि ६४ करोड भारु छुट्याएको छ । भारतले सांस्कृतिक कूटनीतिका लागि ३ अर्ब ५१ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update