कालीकोट - कालिकोटको शुभ कालिका गाउँपालिका–४ सल्लेरीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ६ बजे पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जिप ब्याक भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।
उनका अनुसार मृत्यु हुनेमा दैलेख आठ बिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालिकोटको शुभ कालिका–२ का नवराज शाही रहेका छन् ।
भीरबाट तीन वटै शव निकालिएको प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्रा टुक्रा भएको अवस्थामा छ । जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

