काठमाडौं - गायक तथा सर्जक टंक तिमिल्सिनाको नयाँ लोक–आधुनिक गीत ‘काली काली’ सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर टंक तिमिल्सिनाकै रहेको गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । विवाह र प्रेमको रमाइलो भाव बोकेको गीतले श्रोतामाझ उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।
गीतको भिडियो पक्षलाई अझ सशक्त बनाएका छन् निर्देशक गम्भीर बिष्टले । सरल कथावस्तुलाई जीवन्त दृश्यमा उतार्दै उनले ग्रामीण संस्कार, प्रेम र हास्यलाई सन्तुलित रूपमा प्रस्तुत गरेका छन् । गम्भीर बिष्टको निर्देशनले गीतलाई केवल सुन्ने मात्र होइन, हेरेर अनुभूति गर्ने बनाएको छ।
भिडियोमा विशेष रूपमा चर्चा बटुलिरहेकी छन् बाल कलाकार आर्शिना भट्टराई । छोटो उपस्थितिमै दर्शकको मन जित्न सफल आरशिनाको स्वाभाविक अभिनयले कथालाई थप भावनात्मक बनाएको छ । उनको अभिनयलाई दर्शकहरूले ‘गीतको आत्मा’ को रूपमा लिएका छन्।
भिडियोमा टंक तिमिल्सिना, दीपक ढकाल, मौनता आर्याल र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ भने कोरियोग्राफी प्रशान्त मगरको रहेको छ । सिनेमाटोग्राफी नवराज उप्रेती, सम्पादन तथा रङ संयोजन प्रविण भट्टले गरेका हुन्।
संगीत संयोजन केशव बडु, मिक्सिङ/मास्टरिङ एचबिएन किस्मत र विभिन्न लाइभ वाद्यवादकको प्रयोगले गीतलाई अझ समृद्ध बनाएको छ । ‘काली काली’ गीत टंक तिमल्सिनाको अफिसियल्ली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नयाँ पुस्ताको ऊर्जा, अनुभवी कलाकारको सिर्जना र बाल कलाकारको प्रभावशाली उपस्थितिले ‘काली काली’ यस वर्षको चर्चित लोक–आधुनिक गीतमध्ये एक बन्ने संकेत देखाएको छ।

