काठमाडौँ - लोड व्यवस्थापन र नयाँ फिडर निर्माणको कामका कारण आज काठमाडौँका विभिन्न स्थानमा केही घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडर क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको जनाएको हो ।
प्राधिकरणका अनुसार गणेशस्थान, भङ्गाल र शिवपुरी फिडर मातहतका क्षेत्रमा फिडरको भार मिलाउने तथा नयाँ पासिकोट फिडर निर्माणसँगै ब्रेकर र भूमिगत तार चार्ज गर्ने काम भइरहेकाले अस्थायी रूपमा बिजुली कटौती गर्नुपरेको हो ।
सूचनाअनुसार गणेशस्थान फिडरअन्तर्गत भोटे चोक र गणेशस्थान आसपासका क्षेत्रमा बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान ११ः३० बजेदेखि अपराह्न १ः०० बजेसम्म बिजुली कटौती हुने जनाइएको छ ।
यसैगरी शिवपुरी फिडर अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
प्राधिकरणले तोकिएको काम निर्धारित समयअघि नै सम्पन्न भएमा उल्लेखित समयभन्दा अगावै विद्युत् सेवा पुनः सुचारु हुने स्पष्ट पारेको छ।

