काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न विभिन्न समिति गठन गरेको जनाएको छ ।
विशेष महाधिवेशन पक्षधरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन व्यवस्थित गर्नका लागि विभिन्न १८ वटा समिति गठन गरिएको जनाएको हो । राजनीतिकदेखि बिभिन्न तयारी समिति गठन गरिएको विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु शिवाकोटीले जानकारी दिए ।
उनले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको र आवासको सुविधा प्रदान गरिएको बताए । विशेष महाधिवेशनमा आउन चाहने प्रतिनिधिहरुलाई अवरोधको प्रयास भएको उनले बताए । उनले विधान अनुसार नै विशेष महाधिवेशन हुन लागेको भन्दै यसमा समर्थन गर्न आग्रह गरे ।
उनले बुधबारदेखि भृकुटिमण्डपमा डेस्क नै स्थापना गरेर काम सुरु गर्ने उल्लेख गरे । शिवाकोटीले पार्टी कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै भएका प्रदर्शन स्वभाविक भएको तर्क गरे ।

