Harsamaya
साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो । आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ ।

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो । यसदिन सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेका छन् । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमार्फत ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।

सोमबार एसवाई प्यानल नेपालको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य करिब १० प्रतिशतले वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै २३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । त्यसपछि मञ्जुश्री फाइनान्सको करिब १८ करोड र शिवम् सिमेन्ट्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update