Harsamaya
‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई
नेपाली सेनाका राजन रोकाय ।

गोरखा - गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन् । गोरखा उद्योग वाणिज्य संघ गोरखाले १२औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन् ।  

गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएको संघका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिए ।  
 
त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टंकबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगितामा तेस्रो भएका छन् । प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए ।  

त्यस्तै सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गरेका छन् ।  प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update