Harsamaya
‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल ।

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैर जिम्मेवारपूर्ण रहेको भन्दै आक्रोस् व्यक्त गरेका छन् । 

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए ।

उनले भने,‘जेनजी आन्दोलनमा विध्वंस मच्चाउने राष्ट्रकै अपराधीहरु हुन् । उनीहरुलाई अहिलेको सरकारले कारवाही गर्छ कि गर्दैन ? आज सिंगो देशमा प्रश्न उठाइरहेको छ । आजसम्म ती अपराधीहरु एकजनालाई पनि कारबाही गरेको छैन । म यो सरकारको अर्कमण्यता, गैर जिम्मेवारीप्रति आक्रोस् व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै उनले देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा जेनजीहरु फसेको धारणा राखे । सबै जेनजीहरुले एक पटक छातीमा हात राखेर विध्वंसले आफ्नो भविष्य जल्यो कि जलेन भनेर सोच्न आग्रह गरे ।

‘उनीहरु देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा फसे । उनीहरुले आफ्नै देश चिनेन आफ्नो कर्तव्य देशप्रतिको जिम्मेवारी बुझेनन् । र देशमा विध्वंस मच्चाउने काम गरे । देशलाई जलाउने काम मात्र गरेनन् जेनजी भाइबहिनीहरुको भविष्य जलाउने काम भयो । सबै जेनजी भाइबहिनीहरुले एक पटक छातीमा हात राखेर सोच्न आग्रह गर्छु । के विध्वंसले तपाईहरुको भविष्य जलेन ? सोच्नुपर्नेछ यो तपाईहरुको भविष्य जलाउने काम गरिएको छ ।’

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update