काठमाडौं - नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।
दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले आज काठमाडौँ उपत्यकामा रहेका आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्युएफएक्स सिटी स्क्वाएर मल, क्युएफएक्स भक्तपुर, सिके सिनेमाज, क्युएफएक्स लविम मल, आइएनआइ सिनेमा लोत्से मल, आइएनआई सिनेमा विश्वज्योति, बिएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आइएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्युएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो ।
चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा–२ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार उक्त चलचित्रले देशव्यापी रु १७ करोड ५५ लाख ३४ हजार ५३० कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौँथो स्थानमा छ ।

