Harsamaya
चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो : सुमना श्रेष्ठ
पूर्वसांसद सुमना श्रेष्ठ ।

काठमाडौं - पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरि दुई दिनसम्म चल्नेछ । स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन् । युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

श्रेष्ठले पछिल्लो समय मुलुकको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै युद्धग्रस्त देशजस्तै उच्च पलायन दर देखिएको बताइन् । उनले युवालाई स्वदेशमै रोक्न शिक्षा प्रणाली सुधार गर्न र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । तर ती काम गर्नका लागि धेरै समय नभएको पनि उनको भनाइ थियो ।

उनले भनिन्, ‘जेनजीको आन्दोलनपछि देशको परिवेश परिवर्तन भएको छ । युवाहरुले कस्तो आचरण खोज्नु भएको हो, कस्तो सिस्टम खोज्नु भएको हो ? त्यो पनि हामी सबैले अंगिकार गर्न जरुरी छ । गत भदौं २३ र २४ गतेको कुरा गर्दै गर्दाखेरी हाम्रो राज्यको अवस्था कस्तो छ ? हाम्रो पलायन रेट युद्ध भएको देशको जस्तो छ । हाम्रा युवाहरुलाई यही देशमा रोक्नका लागि जुन काम गर्नुपर्छ, शिक्षा सुधार्नुपर्छ, रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ तर त्यसको लागि समय धेरै छैन ।’

उनले युवाले चाहेको विकास र जीवनशैली कस्तो हो भन्ने विषय स्पष्ट रूपमा व्याख्या गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । राजनीतिक दलको काम चुनाव जित्ने वा कानुन बनाउने मात्र नभई जनतामा नयाँ सोच र आवश्यकताको माग सिर्जना गर्नु पनि भएको श्रेष्ठको धारणा थियो ।

उनले भनिन्, ‘युवाले खोजेको र चाहेको विकास कस्तो हो त ? हामीले चाहेको लाइफ स्टाइल कस्तो हो त ? यसलाई व्याख्या गर्दै अगाडि जानुपर्छ । राजनीतिक पार्टीको काम चुनाव जित्ने मात्रै होइन, कानुन बनाउने मात्रै होइन, राजनीतिक पार्टी र राजनीतिक नेतृत्व एउटा ठूलो जनतामा डिमाण्ड क्रेट गर्ने हो ।’

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update