काठमाडौं - सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ ।
बैंकले उक्त आइपिओ मंसिर २५ गतेदेखि खुला गरेको थियो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर जारी गरिँदैछ ।
कुल निष्कासित शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो ।
आईपिओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस आइपिओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

