काठमाडौं - पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ ।
कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्यांकअनुसार चलचित्र परानले करिब १७ करोडको व्यापार गरेको छ ।
गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ । बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् ।
‘चलचित्र परानलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ, यो हाम्रै समाजको कथा हो’, निर्देशक आचार्यले भने ।
नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गर्नुभएको उक्त चलचित्रका लागि हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।

