Harsamaya
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
फाइल तस्वीरः हर समय/harsamaya

झापा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।

अनुसन्धानका क्रममा सो प्रमाणपत्र नक्कली र झुट्टा भएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । निरौला विसं २०५५ मा अस्थायी रूपमा नियुक्त भई २०७५ साल चैत २८ गते स्थायी नियुक्ति लिई हालसम्म सोही विद्यालयमा कार्यरत रहेको पाइएको आयोगले जनाएको छ ।

नक्कली शैक्षिक योग्यताको आधारमा सरकारी सेवा, तलब, भत्ता र अन्य सुविधा प्राप्त गरेको ठहरसहित आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजायमागगर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update