Harsamaya
ओलीको वरिपरि काँग्रेसको अर्को खेमा घुमिरहेको छ : घिमिरे
नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे ।

काठमाडौं - नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरूलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए ।

घिमिरेले भने, ‘अहिले केपी ओली जीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु भनिरहनु भएको छ । मैले भन्नै पर्छ, ओलीको वरिपरि फेरि नेपाली काँग्रेसको एउटा खेमा घुमिरहेको छ अहिले पनि ।’

उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र वैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए । ‘काहीँ नभएको जात्रा नेपाली काँग्रेसभित्र भएको छ । पार्टीमा सहमतिबाट महामन्त्रीले ल्याउने चलन छ भने अहिले सहमहामन्त्रीले ल्याइदिनुभएको छ । घर मुली भएर उहाँहरू झगडा गर्ने ?’ उनले व्यङ्ग्य गर्दै भने । घिमिरेले विशेष महाधिवेशन र अविश्वास प्रस्तावका धाराबारे पनि स्पष्टता दिँदै दुवैलाई मिसाउने प्रयास गलत भएको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दुई तिहाइ बहुमत चाहिन्छ, त्यो फरक कुरा हो । विशेष महाधिवेशनको धारा १७(२) हाम्रो विधानको परिच्छेद ६ मा छ भने अविश्वासको धारा ४४ परिच्छेद १२ मा छ । यी दुई धारालाई मिसाउन मिल्दैन, यो त पानीको धारा होइन कि मिसाइदिने !’

उनले पार्टी नेताहरूलाई सुझबुझका साथ अघि बढ्न आग्रह पनि गरे । ‘हाम्रो नेताहरूले सङ्कटमा सुझबुझ देखाउनुभयो, मिलेरै पार्टीलाई यहाँसम्म ल्याउनुभयो । हरेक सङ्घर्षमा हामीले विजय प्राप्त गरेका हौँ । अब पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा नेताहरूबिच सहमति आवश्यक छ,’ घिमिरेले भने ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update